Games युनिकोड मिति रूपान्तरण

मिति लोड हुँदैछ...

EN

नक्कली नोट छाप्ने मेसिनसहित बाराका दुई जना पक्राउ

News Desk

AI Image
पौष २१ /  नक्कली नोट छाप्ने मेसिन तथा आवश्यक सामग्रीसहित बाराका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२ कबलपुर बस्ने ४२ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका-३ घर भई भारतको मोतिहारी लाला टोल पतौना बस्ने २८ वर्षीय सबि कुमार श्रीवास्तव रहेका छन्।

गोप्य सूचनाका आधारमा पुस १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ उत्तरखेल चोकबाट १ हजार दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। सोही क्रममा यादवको संलग्नता खुल्दा श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र आवश्यक सामग्री नेपाल ल्याउँदै गरेको जानकारी प्राप्त भएपछि प्रहरीले बारा प्रहरीसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट BR 05 AF 2511 को बुलेट मोटरसाइकलमार्फत काठमाडौं ल्याइँदै गरेको अवस्थामा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा विभिन्न प्रिन्टिङ सामग्री बरामद गरिएको छ।

पक्राउ परेकाहरूको साथबाट भारतीय ५०० दरका ३१७ थान नक्कली नोट, कलर प्रिन्टर, सिपीयु, मोनिटर, किबोर्ड, माउस, टोनर, मोबाइल, नक्कली पेस्तोल, ‘लालिगुराँस’ वाटरमार्क छापिएको १००० लेखिएको कागजसहित विभिन्न उपकरण र कागज गरी ठूलो परिमाणमा सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।