Games युनिकोड मिति रूपान्तरण

मिति लोड हुँदैछ...

EN

मधेश सरकार अझै अधुरो, एक महिनापछि पनि मन्त्रिमण्डलले पाएन पूर्णता

News Desk


मधेश प्रदेशमा कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । छ दलको समर्थनमा मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत पाए पनि त्यसपछि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ ।

प्रदेशमा ११ मन्त्रालय रहेकामा हालसम्म पाँच जनामात्र मन्त्री नियुक्त भएका छन् । बाँकी छ मन्त्रालय मन्त्रीविहीन हुँदा नीति कार्यान्वयन, प्रशासनिक निर्णय र सेवा प्रवाह प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा बनेको सरकारले समयमै पूर्णता नपाए जनअपेक्षा पूरा गर्न कठिन हुने विश्लेषकहरूको भनाइ छ ।


दलहरूबीच मन्त्रालय बाँडफाँट टुङ्गिएको भए पनि मन्त्री छनोट र आन्तरिक समन्वयका कारण ढिलाइ भएको बताइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले केही दिनमै मन्त्रिमण्डल पूर्ण हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सरोजकुमार यादवले भने सरकारको ढिलाइलाई कमजोरी भन्दै तत्काल मन्त्रिमण्डल विस्तारको माग गरेका छन् ।

राजनीतिक समन्वय र निर्वाचन केन्द्रित गतिविधिका कारण सरकार विस्तार प्राथमिकतामा नपरेको देखिए पनि लामो समयसम्म मन्त्रिमण्डल अपूर्ण रहनु प्रदेशको सुशासन र विकासका लागि प्रतिकूल हुने भन्दै चिन्ता बढ्दै गएको छ ।